जनताले मलाई आएर देश बचाऊ भन्न थालेका छन् : पूर्वराजा शाह

सेयर गर्नुहोस्

२० पौष,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई जनताहरुले आएर देश बचाउन आग्रह गरेको बताएका छन् । उनले मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताए। भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए। म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने।

उनले बुद्धभूमि सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर कताकता हराइरहेको बताए। ‘कताकता आफैं हारिरहेका छौं,’ उनले भने। समाज कानुन र व्यवस्थाबिना देश अस्तित्वमा रहननहुने बताउँदै देश सुहाउँदो, बलियो अभिष्टहरूमार्फत् अगाडि बढ्नुपर्ने बताए। ‘तर आज देश जर्जर भएको छ। बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ। देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएका छन्। यस्तो अवस्थाको अन्त्य हुनै पर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *