रमेश लेखकको दाबी : राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन

सेयर गर्नुहोस्

२६ पौष,काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् । बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरु मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन् । उनले मतदाता प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एउटा पार्टीका उम्मेदवारहरुले अर्को पार्टीका उम्मेदवारहरु नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरु जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए । उनले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समितिले बुधवारबाटै काम शुरु गरिसकेको बताउदै पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताएका छन् । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताए । साथै गठबन्धनले सबै जिल्लाहरुमा पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए । राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति संयोजक समेत रहनुभएका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *