त्रिविको उपकुलपतिका लागि ४३ जनाले हाले दरखास्त

सेयर गर्नुहोस्

९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि ४३ जनाले आवदेन दिएका छन् । निवेदन दिनेमा दुई महिलासहित ४३ जना प्राध्यापक रहेका छन् । आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलपति सिफारिस समितिले जनाएको छ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो । समितिका अनुसार अब आवेदन भेरिफाई गरिनेछ । अपुग कागजात भए माग गर्ने र विज्ञ टोली बनाएर मूल्यांकन गरेर उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने काम सुरु हुनेछ । समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये एकलाई कुलपतिले नियुक्ति दिने व्यवस्था छ ।

उपकुलपतिका लागि आवेदन दिनेमा त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन् ।

कार्यविधिअनुसार अन्तर्वार्ता र प्रस्तुतीकरणबाहेकका अंकबाट अल्पसूची तयार पारिनेछ । आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिनेछ । अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने समितिले जनाएको छ ।

आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा एक सय अंकमा प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ । विश्वविद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनालाई ३५ अंक छुट्याइएको छ । प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अंक तोकिएको हो ।

प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *