आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचामा धेरै परिवर्तन हुन्छ : प्रधानमन्त्रि

सेयर गर्नुहोस्

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचामा धेरै कुराहरुमा परिवर्तन आउने बताएका छन् । मंगलबार बिहान नेकपा एमालेका पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले जानकारी गराएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको थियो ।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए । एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत प्रधानमन्त्रीले व्यक्त गरे ।

ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *