राष्ट्रियसभा सदस्यको मतदान सम्पन्न

सेयर गर्नुहोस्

११ माघ, काठमाडौं । राष्ट्रियसभाका १९ सदस्य पदका लागि बिहीबार भएको मतदान सम्पन्न भएको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो । मतदान सकिए लगत्तै मतगणना थाल्ने र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगकाअनुसार चुनावमा ९९.३२ प्रतिशत मत खसेको छ । मतदान शान्तिपूर्ण भएको राति ८ बजेसम्म सबै नतिजा आउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलकाअनुसार मधेश प्रदेशको जनकपुरमा मतगणना सुरु भइसकेको छ। अन्य प्रदेशमा पनि सर्वदलीय बैठकहरु सुरु भएका छन । अबको एक घण्टामा सबै प्रदेशमा मतगणना सुरु हुनेछ ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । कोशीको निर्वाचनमा धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भए भने झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् ।

मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरेका छन् । वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए ।  गण्डकीमा २२९ जनाले मतदान गर्दा सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् । त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा स्थानीय तहको दुई मत खसेन । कर्णालीमा शत प्रतिशत मतदान भएको छ । कर्णालीमा १९६ मतदाता रहेका थिए । सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *