निमोनियाको कारण पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

सेयर गर्नुहोस्

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए ।  उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए । उहाँमा निमोनियाको समस्या देखिएको थियो, त्यसपछि ब्लड प्रेसर पनि कन्ट्रोल हुन नसकेर त्यसले शरीरका भित्री अरु अंगमा पनि असर पुर्याएपछि केशव दाइ रहनु भएन,’ थापाले भने ।

बुढाथोकी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति थापाका अनुसार बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *