२८ फाल्गुन, काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको गठबन्धन कसैको दवाव र प्रभावमा नपरी स्वदेशकै पात्रहरूले, स्वदेशकै खेलाडीहरूले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा भने चुनौतीको रूपमा रहेको बताएका छन् ।
‘एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहीँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरूले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने देशको परिस्थिति धेरै नै गम्भीर छ’, उनले भने ।
उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू ठुलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए । उपमहासचिव ज्ञवालीले काँग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको सहकार्यका लागि तयार भएको जिकिर गरे ।