४ चैत, काठमाडौं । सरकारमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले भने, ‘समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले गर्छौं ।’ स्थगित भएको दबाब यात्रा कहिलेबाट गर्ने भन्नेबारे भने रास्वपाले निर्णय लिएको छैन ।
२१ फागुनबाट रास्वपा सरकारमा गएपछि विकास आयोजनामा दबाब यात्राले निरन्तरता पाएको छैन । यसबीचमा ३ वटा मात्रै आयोजनामा रास्वपाले दबाब यात्रा गरेको छ । २१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौं यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो । २१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नु अघि रास्वपाले नारायणगढ–बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।