२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिक दलहरूले देशलाई प्राथमिकता नदिएको बताएका छन् । घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले सबैजना पार्टीभन्दा माथि उठेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
मैले देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भन्दै आएको छु,’ कोइरालाले भने ‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म हुँदैन । छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिनुपर्ने कोइरालाले बताए । राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकतामा नराखेकै कारण जनतामा निराशा छाएको उनले बताए । उनले भने, ‘नेताहरूले पहिले आफू त्यसपछि पार्टी अनि मात्रै देशलाई राख्ने गरेकाले संकट गहिरिएको छ ।’