२२ जेठ, काठमाडौं । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ । पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका-९ स्थित २७ वर्षीय मेघबहादुर ठकुरी र बागमती-४ घर भई काठमाडौं माकलबारी बस्ने ३४ वर्षीया नाना र माया नामले चिनिने सक्कली डिमडुङ छिन् । सोमबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४५४० नम्बरको यात्रुबाहक बसलाई नागढुंगामा प्रहरीले जाँच गर्दा ट्याब्लेट र झोल लागुऔषध बरामद भएको थियो । उक्त लागुऔषध ठकुरी लिएर आएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
ठकुरीले उक्त लागुऔषध नानालाई दिन ल्याएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा नानाले पठाओ राइडरलाई पैसा दिएर उक्त लागुऔषध ल्याउन पठाएको खुलेको छ । सीसीको बोतलमा मह आएको छ भन्दै पठाओ राइडरलाई लागुऔषध बोक्न प्रयोग गरिएको खुलेको छ । पठाओ राइडरले लागुऔषध रिसिभ गर्नुभन्दा पहिले नै प्रहरीले लागुऔषध बरामद गरेको थियो ।