२३ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांगेस महामन्त्री गगन कुमार थापालाई वर्तमान सरकार ढल्ने आशंका नगर्न आग्रह गरेका छन् । बर्तौला अगाडि बोलेका कांग्रेस महामन्त्री गगन थापाले सरकार स्थिर नहुँदा बजेटमा आएका कार्यक्रमको अपनत्व कसले लिन्छ भन्नेमा संशय रहेको बताएका थिए । बजेटको धेरै विरोध गर्दा निश्चित समयपछि आफैँले बोक्नुपर्ने हो कि भनेर टिप्पणी गरेका थिए ।
‘यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं यति उथलपुथल भएको छ यो संसदमा ६/८ महिनापछि आफैंले काँध हाल्नुपर्ने हो कि फेरि ! आफ्नै बजेट गलपासो हुने हो कि फेरि !’ महामन्त्री थापाले भनेका थिए । जवाफमा एमाले प्रमुख सचेतक बर्तौलाले सांसदहरूलाई सैद्धान्तिक रूपमा आफूलाई लागेको विषय राख्न पार्टीले भनेको बताए । सैद्धान्तिक रूपमा राखेका सुझावका आधारमा बजेट नै पास हुँदैन कि, सरकार ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गरे । ‘म भन्न चाहन्छु– यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन,’ बर्तौलाले अगाडि थपेका छन्, ‘‘ माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप–अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ । सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ । त्यहाँसम्म पुग्ने परिस्थिति छैन ।’