राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई  रास्वपा सांसद डाँगीको आग्रह

सेयर गर्नुहोस्

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेट नहुँदा नहुँदै राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगर्न आग्रह गरेकी हुन् ।   हामीसँग राष्ट्रिय गौरवका आयोजना धेरै छन्, तर सामाजिक आर्थिक मूल्यांकन नगरिएका आयोजना मात्र । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजना घोषणा गरिदिन्छौं । स्रोतको सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास सिर्जना हुन थालेको छ’, उनले भनिन् ।
सांसद डाँगीले प्रधानमन्त्री र मन्त्रीको चाहनामा मात्र राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न नहुने बताइन् । ‘राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीका व्यक्तिगत इच्छामा वा चाहनामा नभई एउटा कंक्रिट मापदण्डका आधारमा छनोट गरियोस्’, उनले भनिन् । स्रोतको सुनिश्चितता बिना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकका लागि धोका भएको भन्दै सांसद डाँगीले यस्तो प्रवृत्ति यसै वर्षदेखि अन्त्य गरिनुपर्ने बताइन् । संघ, प्रदेश र स्थानीय तहसम्म हाम्रो बजेटको ठूलो हिस्सा भ्यूटावर, स्वागत गेट र कंक्रिटका प्रतिमामा खर्च भइरहेको भन्दै उनले विकासको यो भाष्य नै बदल्नुपर्ने धारणा राखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *