वर्षाका कारण नेपाल र श्रीलंकाबिचको खेल रद्द, सुपर ८ मा पुग्न नेपालको सम्भावना कति ?

सेयर गर्नुहोस्

३० जेठ, काठमाडौं । वेष्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी-२० विश्वकपमा वर्षाका कारण नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । दुई खेलमा नेपाल एक अंकका साथ चौथो र तीन खेलमा एक अंक जोड्दै श्रीलङ्का अंक तालिकाको पुछारमा पुगेको छ । नेपाल र श्रीलंकाको खेल रद्द भएपछि साउथ अफ्रिका भने एक खेल अगावै माथि उक्लेको छ । साउथ अफ्रिकाले श्रीलङ्का, बंगलादेश र नेदरल्याण्डमाथि लगातार जित हासिल गरेको थियो । जसले गर्दा विश्वकपको सुपर-८ मा पुग्ने पहिलो टोली साउथ अफ्रिका बनेको छ ।

अब दोस्रो स्थानका लागि बंगलादेश, नेदरल्यान्डस्, श्रीलङ्का र नेपाल प्रतिस्पर्धामा छन् । बंगलादेश र नेदरल्यान्डस् क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। सुपर – ८ मा बंगलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको सम्भावना बलियो देखिन्छ भने नेपालको सम्भावना पनि निकै कठिन रहेको छ । नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले दुवै खेल वेष्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

नेपाललाई सुपर–८ पुग्न बाँकी खेल कुनै पनि हालतमा जित्नै पर्ने हुन्छ । उक्त जितले मात्र पनि पुग्ने सम्भावना भने छैन । दुई खेल खेल्न बाँकी नेदरल्यान्ड्सले कम्तीमा एक खेल हार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सले दुवै खेल जितेमा वा नेपालले एक खेल हारेमा पनि नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिनेछ । यस्तै दुई खेल खेल्न बाँकी रहेको बंगलादेशले पनि एक खेल हार्नुपर्छ ।

नेपालले बलिया राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशसँग जित निकाल्न सहज भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *