प्रेमिकासँग सम्बन्ध बिग्रिएपछी संसद भवनमा कार्यरत प्रहरी जवानले गरे आत्माहत्या

सेयर गर्नुहोस्

५ असार, काठमाडौं ।  काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँग सम्बन्ध बिग्रिएपछी आफैँलाई गोली हानेर आत्माहत्या गरेका छन् । बुधबार बिहान दोलखाको मेलुङ गाउँपालिका ४ का प्रहरी जवान २२ वर्षीय गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए। त्यस क्रममा उनले शौचालयमा गएर राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ।
उनी बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए। तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका गोले संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए। उनले अन्दाजी बुधबार बिहान ८ बजेतिर गेटको बायाँपट्टि रहेको शौचालयमा गएर आफूलाई बोकेको इन्सास राइफलले आफ्नो निधारमा एक राउन्ड फायर गरेका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। घटनास्थलमा उनको मोबाइल पनि फेला परेको छ। उक्त मोबाइलमा भएको म्यासेजका आधारमा उनले प्रेमिकासँगको खटपटका कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निचोड छ।

शौचालयमा फेला परेको गोलेको मोबाइलमा घटनाकै समयमा एक युवतीसँग कुरा गरेको पनि देखिएको छ। एसपी अधिकारीले भने, ‘एक महिलासँग कुरा गरेको पनि देखिएको छ। अहिलेसम्म हेर्दा यही कारण उनले आत्महत्या गरेको हो कि भन्ने हाम्रो अनुमान छ। थप अनुसन्धान भइरहेको छ। हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ। तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागन्ज लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *