१६ असार, जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं। ४ ९क० मा प्रदेश सांसद निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए । महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।
यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।