केटी जिस्क्याएको निहुँमा झगडा हुँदा एक जनाको मृत्यु, चार जना पक्राउ

सेयर गर्नुहोस्

२६ असार, विराटनगर । मोरङ कटरी गाउँपालिका-१ जमरटोकीका करण कामतको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । केटी जिस्क्याएको निहुँमा दुई समूहबीच झगडा हुँदा कामतको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार राति दुई समूहबीच झडप हुँदा करणको मृत्यु साथै अरु २ जना घाइते भएका थिए । घाइते विराटनगर २ स्थित नेपाल टेलिकम अगाडि भेटिएका थिए । घाइते भएकाहरू कटहरी-१ जमोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । टपिटमा संलग्न अर्को समूहका ४ जनालाई प्रहरी पक्राउ गरेको छ । एकजना नाबालक छन् । घटनामा संलग्न रहेको आरोपमा विराटनगरका सोनु गिरी, भोजपुरका सञ्जय पुरी र ताप्लेजुङका दावा शेर्पालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार मृतक करणको समूहले युवतीलाई जिस्काएको भन्दै दुई समूहबीच भनाभनबाट झगडा सुरू भएको प्रहरीको भनाइ छ । ग्याङ फाइटका क्रममा घाइते तीनैजनालाई घाइते अवस्थामा प्रहरी सोमबार राति भेटेर उद्धार गरी अस्पताल पुर्‍याएको थियो । कामतको भने अस्पताल पुर्‍याउन नपाई बाटोमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानबहादुर बस्नेतले भने,‘केटी जिस्क्याएको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति हुन पुगेको पाइयो । दोहोरो हानाहान हुँदा पीडक पक्षका शेर्पाले साथमा बोकेको कैँची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको बस्नेतले बताए । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए । ‘घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ,’ उनले भने, ‘विभिन्न पाटोबाट विस्तृतमा अनुसन्धान भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *