गोताखोरले पनि भेट्टाउन सकेनन त्रिशुलीमा खसेको बस

सेयर गर्नुहोस्

२९ असार, काठमाडौं । चितवन– शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसेका दुवै बस गोताखोरले पनि अहिलेसम्म भेट्टाउन सकेको छैन । भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट पहिरोले सोहोरेर त्रिशूलीमा डुबेका बसको अवस्था पत्ता लगाउन शनिबार बिहान गोताखोर पसेका थिए । सशस्त्रका दुई जना ग‍ोताखोर २० मिनेटसम्म नदीमुनि रहेर खोजी गरेका थिए। तर दुवै बस त्रिशूलीमा खसेको भनिएको सम्भावित स्थानको २० मिटर आसपाससम्म नभेटिएका हुन्। खोजीका लागि त्रिशूलीमा पसेका एकजना गोताखोरले घटनास्थलस्थित सञ्चारकर्मीलाई बताएअनुसार ५० फिट गहिराइमा जाँदा पनि बसको अवस्था पत्ता नलागेको हो। उनका अनुसार अर्का गोताखोरसहित मिलेर बस खसेको भनिएको स्थानको २० मिटर आसपास पानीमुनि खोज्दा सवारीसाधन र यात्रुको अवस्था खुल्न नसकेको हो ।

शनिबार सिमलताल आसपासको क्षेत्रमा मौसम राम्रो छ । त्यहीकारण खोजी र उद्धारमा सहज भएको छ । तर त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले खोजीमा जटिलता कायमै छ । सशस्त्रका गोताखोरले पानीको मुख्य करेन्ट छिचोलेर खोजी गर्न मुस्किल परेको बताएका छन् । सम्भावित डुबेको स्थानमा नभेटिएपछि सशस्त्रका गोताखोरसहितको टोली १०० मिटर परसम्म खोजीका लागि फैलिएको छ । अहिले बस खसेको सम्भावित स्थानमा नेपाली सेनाको गोताखोरसहितको टोली खोजीमा जुटेको छ ।

त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले बसलाई बगाएर अर्को स्थानसम्म पुर्‍याएको आशंका उद्धारमा सक्रिय सुरक्षाकर्मीले गरेका छन्। शुक्रबार दिनभर खोज्दा बसका केही पर्दा, यात्रुका लुगासहितका सामान भेटिएका थिए । पहिरोले बस त्रिशूलीमा खसेपछि तीनजना यात्रु भने बाँच्न सफल भएका छन्। काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *