२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नुवाकोट पुगेर एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको स्थानको अवलोकन गरेका छन् । उनले दुर्घटनास्थलको अवस्थाबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताए ।
बुधबारमात्रै काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो । ‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने । झोर भन्ने स्थानभन्दा माथि भञ्ज्याङ जस्तो ठाउँ रहेको र त्यहीँबाट हेलिकप्टर फर्किने बेला दुर्घटना भएको जस्तो देखिने उनको भनाइ छ ।
उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ । त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ । मन्त्री पाण्डेका अनुसार उक्त हेलिकोप्टर चिनियाँ नागरिकहरुलाई स्याफ्रुबेंसी छोड्ने र फर्किने बेला अमेरिकी नागरिकहरुलाई ल्याउने योजनाका साथ काठमाडौंबाट उडेको थियो ।