गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीले रोकेको थिएन स्कुटर

सेयर गर्नुहोस्

३२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो ।

प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए । यसबारे बिहीबार नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटरलाई ट्राफिकले नरोकेको बताएका थिए । सीसीटीभी फुटेजमा समेत ट्राफिकले स्कुटरलाई रोकेको देखिँदैन ।

बिहिबार भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ ।

सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर परसम्म पुगेको देखिन्छ ।

त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ ।

यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ । उनको शव आफन्तले सनाखत समेत गरिसेकेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद बिष्टले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *