एक वर्षमा करिब तीन हजारले लिए गैरआवासीय नेपाली नागरिकता

सेयर गर्नुहोस्

१८ असोज, काठमाडौं – एक वर्षको अवधिमा करिब तीन हजारले गैरआवासीय नेपाली नागरिकता लिएको पाइएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दुई हजार ९४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

एक हजार ८६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २३७ मात्रै थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो ।नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए तापनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।

नेपाल कानून आयोगले गत भदौ २७ गते प्रकाशित गरेको ‘गैर आवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कार्यान्वयन सम्बन्धी अध्ययन’ प्रतिवेदन अनुसार यस अवधिमा ६९ जिल्लाबाट गैर आवासीय नेपाली नागरिकता जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयहरूबाट गैरआवासीय नेपाली नागरिकता लिनेहरू र नागरिकता त्याग गर्नेको संख्या अद्यावधिक भइरहने भएकाले यो संख्या अझै बढी हुन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *