कोशी प्रदेशमा पुल र सडकमा मात्रै साढे ५ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान

सेयर गर्नुहोस्

२१ असोज, काठमाडौं- असोज ११-१२ को वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा पुल र सडकमा मात्रै साढे ५ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रकोपले १०१ वटा सडक, १५ वटा पुल र २५ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

१४जिल्लाका सडकमा ४ अर्ब ६३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको मन्त्री भूपेन्द्र राईले बताए । उनले ४१ वटा सडक, दुईवटा सडक पुल र आठ वटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको जानकारी दिए । त्यसैगरी १ अर्ब २ करोड ५० लाख रूपैयाँ बराबरका ६० वटा सडक, १५ पक्की पुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको राईले जानकारी दिए ।

बाढी र पहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न ५ अर्ब ६६ करोड लाग्ने बताए । क्षति पुगेका सडक, पक्की पुल र झोलुङ्गे पुल अस्थायीरूपमा सञ्चालन गर्न तत्काल १ अर्ब २ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।पुलतर्फ उदयपुर र खोटाङमा सबैभन्दा बढी ६४ करोड ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।पक्की पुलतर्फ भोजपुर-धनकुटामा ५५ करोड, पाँचथर-ताप्लेजुङमा ३६ करोड, सोलुखुम्बु-ओखलढुङ्गामा २८ करोड ५ लाख, झापा-इलाममा १५ करोड, सङ्खुवासभा-तेह्रथुममा ५२ लाख र सुनसरी-मोरङमा २७ लाख रुपैयाँ बराबरको पूर्ण तथा आंशिकरूपमा क्षति भएको छ ।

मन्त्री राईले क्षति पुगेका केही सडक र पुल मर्मत थालिएको र दशैँअघि नै सञ्चालनको तयारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *