दसैंमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने झन्डै चार हजार जना कारबाहीमा

सेयर गर्नुहोस्

२ कार्तिक, काठमाडौं –  काठमाडौं उपत्यकामा दसैंमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने झन्डै चार हजार जना कारबाहीमा परेका छन्।

दसैं सकिएसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभिन्न युनिटबाट काठमाडौंमा भएका घटना र कारबाही गरिएको विवरणको रिपोर्ट लिएको थियो।त्यसअनुसार काठमाडौं उपत्यकामा मात्रै झन्डै चार हजार जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्।असोज २४ गतेदेखि कात्तिक २ गते बिहान ६ बजेसम्मको तथ्यांक अनुसार ३ हजार ८४३ जना ट्राफिक कारबाहीमा परेका हुन्।यसमा सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी चलाउनेहरू कारबाहीमा परेका हुन्।

तथ्यांक अनुसार मापसे गर्नेहरू ७५५ जना, तिव्रगतिमा सवारी चलाउने ६६० जना, रेडलाइटमा सवारी चलाउने ४५० जना, सिसिटिभी फुटेजमार्फत ६७२ जना कारबाहीमा परेका छन्।

त्यसैगरी लेनमा १७७ जना, हर्नमा १८० जना क्षमता भन्दा बढी यात्रु राख्ने ११६ जना, बढी भाडा असुल्ने १३ जना, लगायत अन्य विभिन्न प्रकारको कारबाही गरी जम्मा ३ हजार ८४३ जना कारबाहीमा परेका हुन्।

कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार यसपालि अनावश्यक रूपमा हर्न बजाउनेहरूको संख्या पनि वृद्धि भएको हो। यसलाई नियन्त्रण गर्न कारबाही गरिने उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *