“कसैलाई कुर्सीमा टिकाइराख्ने बहानामा कांग्रेसको महाधिवेशन सार्नु हुँदैन।”-शेखर कोइराला

सेयर गर्नुहोस्

४ कार्तिक,काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्नेमा जोड दिएका छन्।

शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन हुनेमा शंका व्यक्त गरे।कार्यक्रमलाई सम्बोधन गर्दै उनले वडा तहदेखि केन्द्रसम्मको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न नगरे कांग्रेस कमजोर हुने बताए। उनले भने, ‘कसैलाई खुसी पार्न र कसैलाई कुर्सीमा टिकाइराख्ने बहानामा कांग्रेसको महाधिवेशन सार्नु हुँदैन।’

त्यसैगरि, नेता कोइरालाले वर्तमान सरकार ढल्ने सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए। नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको बताए।आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्यअनुरुप काम भने गर्न नसकेको टिप्पणी गरे।

उनले भने, ‘यो सरकार ढल्दैन चल्छ। तर सरकार सरकारजस्तो भएर चल्नुपर्दछ। गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन। मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ। जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ।’

कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे। उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *