विद्युत महसुल नबुझाउने उद्योगको लाइन काटियो

सेयर गर्नुहोस्

९ कार्तिक,काठनाडौं-डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत प्राधिकरणले धमाधम काट्न सुरू गरेको छ । बुझाउनु पर्ने महसुल पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले उनीहरूको लाइन काट्न थालेको हो ।

प्राधिकरणले विभिन्न ४९ वटा उद्योगलाई बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । बिहीबार साँझदेखि लाइन काट्न थालेको प्राधिकरणले जनाएको छ ।बक्यौता महसुल तिर्न दिएको समय बिहीवार सकिएसँगै प्राधिकरणले गएराति उद्योगको बिजुली काटेको हो ।

प्राधिकरणका अनुसार घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको छ ।

किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका पाँच उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको एउटा उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको छ ।

असोज अन्तिम साता प्राधिकरणले कात्तिक ८ गतेसम्म महसुल बुझाउन सम्बन्धित सबैलाई जानकारी गराएको थियो । बिहीवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन नकाट्न गरेको अनुरोधमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन नकाट्नका लागि मन्त्रिपरिषदले निर्णय गर्नु पर्ने बताएका थिए । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भएन ।

डेडिकेडेट फिडर र ट्रंकलाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *