रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउन रास्वपाकी सांसद डा.कार्कीको आग्रह

सेयर गर्नुहोस्

१२ कार्तिक, काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. चन्दा कार्कीले रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेकी छन्।

संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा रास्वपा सांसद कार्कीले गृहमन्त्री लेखकसँग त्यस्तो माग राखेकी हुन्। उनले गृहमन्त्रीसमेत भइसकेका लामिछाने भागेर कतै जाने अवस्था नरहेको भन्दै हिरासत बाहिर राख्न अनुरोध गरिन्।

उनले भनिन्, ‘रवि लामिछाने यो समितिको सदस्य पनि हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरूले चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक नै हो। १२ लाख नेपालीले पत्याएको देशको चौथो ठूलो शक्तिको नेतृत्वलाई हिरासतमा राख्दा चिन्ताको विषय हो। उहाँ भागेर कतै जाने अवस्था होइन। म लामिछानेज्यूलाई थुनाबाहिर राखेर न्यायिक प्रक्रिया अगाडि बढाइदिन गृहमन्त्रीज्यूसँग आग्रह गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधि तथा आन्दोलनले न्याय पालिकालाई प्रभावमा पार्ने काम नगरेको उनले बताइन्। लामिछानेको मुद्दा अहिले अनुसन्धानमै रहेकाले थुना बाहिर राखेर अनुसन्धान गरिदिन उनी गृहमन्त्री लेखकसँग आग्रह गरेकी हुन्।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले रास्वपा सांसद कार्कीलाई काउन्टर दिएकी छन्। सबैले कानुनी प्रक्रियाको पालना गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘उहाँलाई भ्रस्टाचारी भनेको पनि छैन। अनुसन्धान हुन त दिनु पर्यो नि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *