रोकिएको खेल पुनः सुरु गर्न यसरी सम्भव भयो

सेयर गर्नुहोस्

 दोस्रो हाफमा नेपाल १० खेलाडीमा सिमित भएपछि भारतले गोल गरेको थियो । संगीता बास्फोरको उत्कृष्ट गोलमा भारतले अग्रता लिएको थियो। भारतीय सबै खेलाडी गोलको खुसी मनाउन थाले । त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपाली टोलीले फटाफट बल चलाउने प्रयासमा थियो । भुटानी रेफ्री चोकी ओमले सिठ्ठी फुक्ने बित्तिकै सावित्रा भण्डारी ‘साम्बा’ले सेन्टरबाट बल अघि बढाउँदै प्रितीलाई पास गरिन् । नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा थिएनन् ।साम्बाले प्रितीलाई बल दिएपछि भारतीय खेलाडीले आफ्नो पोष्टमा अघि बढाएको देखेर गोलकिपरसहित अन्य खेलाडी पोष्ट तिर अघि बढे । भारतीय खेलाडी पोजिसनमा पुग्नुअघि नै प्रितीले बल प्रहार गर्दै गोल गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् ।
रेफ्रीले गोल नदिएपछि नेपाली टीमले नखेल्ने अडान लिएपछि प्रशिक्षक र टीम म्यानेजरले पनि खेलाडीहरुलाई साथ दिए । अब एन्फाले अन्तिम निर्णय लिनुपर्ने अवस्था आयो । तर अहिले देशमा यस्तो महत्वपूर्ण प्रतियोगिताका भइरहेको बेला एन्फाका अध्यक्ष र महासचिव दुवै देशबाहिर छन् । साफ च्याम्पियनसीपजस्तो महत्वपूर्ण प्रतियोगिताका बेला उनीहरु दुवै एक कार्यक्रमका लागि कोरिया पुगेका छन् । रंगशालामा एन्फाका पदाधिकारीहरु थिए । उनीहरु द्वीविधाग्रस्त देखिए । खेलाडीलाई दबाब दिएर मैदानमा पठाउन सक्ने अवस्था थिएन । खेल हुन नसक्दा त्यसपछिको परिस्थितिको जिम्मेवारी उनीहरुले लिनुपर्थ्यो ।
स्रोतका अनुसार रंगशालामा रहेका एन्फाका पदाधिकारीले रंगशालाबाट कोरियामा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरेर सोधे । तर, उनले पनि कुनै निर्णय दिन सकेनन् । रंगशालामा उपलब्धहरुबीच नै छलफल गर्न सुझाव दिए । रंगशालामा भएका एन्फाका पदाधिकारीहरुबीच बारम्बार छलफल भए पनि निस्कर्ष निस्किन सकेन ।यसबीचमा एन्फाले नेपाली पुरुष फुटबल टीमका कप्तान किरण चेम्जोङ र खेलाडी संघका अध्यक्ष विक्रम लामासँग सहयोग मागे । किरण र विक्रम दुवै खेल हेर्न रंगशालामा गएका थिए । सावित्रा भण्डारीलाई बोलाएर उनीहरुसँग भेटाइयो। उनीहरुले धेरै बेरसम्म रेफ्रीको निर्णयलाई मान्नुपर्छ, समय अझै बाँकी छ, तिमीहरुले सक्छौ, यति धेरै दर्शकहरु आउनुभएको छ, आजको निर्णयले‌ पछिसम्म असर गर्न सक्छ’ भनेर साम्बालाई सम्झाएको थिए । त्यही कुरा सम्बाले टीममा गएर राखेपछि सबैजना खेल खेल्न कन्भिन्स्ड भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *