१४ कार्तिक,काठमाडौं- सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन् ।
मंगलबार राति जंगलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।
घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ । घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ ।