“प्रधानमन्त्रीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो,हालत भने ‘भिजेको बिरालो’ जस्तो”-प्रभु साह

सेयर गर्नुहोस्

२२ कार्तिक, काठमाडौँ –आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको भन्दै तत्काल सच्याउन चेतावनी दिएका छन् । साहले प्रधानमन्त्री ओलीको हालत भने ‘भिजेको बिरालो’ जस्तै देखिएको टिप्पणी गरे ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रवार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा सांसद साहले प्रधानमन्त्री ओलीको व्यवहार अराजकता र पाइला अधिनायकवादतर्फ लम्किएको टिप्पणी गरेका छन् । जनताले शान्तिपूर्ण आन्दोलन विरोध गर्दा प्रहरी प्रशासन लगाएर दमन गर्ने र युवाहरूले नाम लिएर नाराबाजी गर्दा प्रहरी लगाएर आतङ्कित पार्ने कार्य नै अलोकतान्त्रिक भएको साहको भनाई छ ।

उनले दशरथ रङ्गशालामा हालै सम्पन्न महिला साफ च्याम्पियनको फाइनल खेलमा युवाहरूले केपी ओलीको नाम लिएर नाराबाजी गर्नेहरूलाई प्रहरीले निगरानी गरेको विषयमा यस्तो टिप्पणी गरेका हुन् ।सामाजिक सञ्जालमा बोलेको विषयलाई लिएर जापानमा अध्ययनरत एक जना नेपाली युवालाई इन्टरपोल लगाएर नेपाल भित्र्याउनेसम्मको तयारी भइरहेको समाचार देख्दा आफूलाई आश्चर्य लागेको साहको भनाई छ । उनले भने, ‘यो सरकार निर्दयी भयो । यस्तो व्यवहारले सरकारको नेतृत्वमा हुनेको ओज बढाउँदैन, बरु सर्वसत्ता लाद्ने नेताको छवि बन्छ ।’

प्रधानमन्त्री ओलीले जनस्तरबाट भएको आलोचनासमेत पचाउन नसकेको साहको आरोप छ । उनले भने, ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएको केपी ओलीले नागरिकस्तरबाट सरकारको आलोचना हुँदा सहन नसक्नु गम्भीर गल्ती हो । जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु अराजकता हो । उहाँको व्यवहार त एक ताका चितवनको सडकमा वितण्डा मच्चाउँदै हिँड्ने ध्रुवे हात्तीजस्तो भयो । यो व्यवहार उहाँले सच्याउनुपर्छ । नत्र जनताले उहाँलाई ठेगान लगाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *