२७ कात्तिक, काठमाडौं – कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको छ ।
मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न प्रहरीले अधिकारीलाई अदालत लगेको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।
त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो । यसपटक थप १० दिन हिरासतमा राख्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका एक अधिकारीले बताए ।
यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको उनको भनाइ छ । मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।
तर, उनीसँगै जापान गएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।