२८ कात्तिक, काठमाडौं । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिका–१३ नहरचोकका ५५ वर्षीय इसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम छन् । मंगलबार उजुरी पक्राउ पूर्जी दिएर इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले उनीहरुलाई पक्राउ गरेको हो ।
मंगलबार दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ।प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । २४ वटा गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए ।