यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सक्ने प्रचण्डको दाबी

सेयर गर्नुहोस्

२८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको जनमत आफ्नो पार्टीको पक्षमा भएको इतिहास रच्न सकिने दाबी गरेका छन् । मेयर र वडाका उम्मेदवारहरुको घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । उम्मेदवारको कारण र पार्टी पनि एकढिक्का भएकाले विजयको आधार बनेको बताउँदै प्रचण्डले भने, ‘अन्य राजनीतिक दलसँग पनि मेरो लगातार कुरा भइरहेको छ । त्यसकारण यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ ।’

माओवादी केन्द्रले कीर्तिपुरको मेयर उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जनलाई अघि सारेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न आत्मसमीक्षा सहित जनताको घरघरमा, टोलटोलमा र व्यक्तिव्यक्तिलाई भेटेर भोट माग्न निर्देशन दिए ।

जनताका घरघरमा पुगेर भेटेर उनीहरुका कुरा सुन्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम गर्नुपर्ने प्रचण्डको भनाइ छ । ‘ठूला सभा र समारोह गरेर भोट नआउने बताउँदै प्रचण्डले भने, ‘घरघरमा जानुस् टोलटोलमा जानुस् र आत्मसमीक्षासहित जानुस् ।’अन्याय र अत्याचारको विरुद्ध विद्रोहको प्रतीकको रुपमा कीर्तिपुर स्थापित भएको भन्दै प्रचण्डले विकास र प्रगतिको अभियान कीर्तिपुरबाट सुरु गर्ने बताए । त्यसका लागि पार्टी हेडक्वाटरबाट कुनै कसर बाँकी नराख्ने आश्वासन प्रचण्डले दिए । कार्यक्रममा कीर्तिपुरको मेयर उम्मेदवार प्रा।डा। शिवशरण महर्जनले कीर्तिपुरको विकास र जनताको सेवाका लागि सम्पूर्णरुपमा समर्पित हुने बताए ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरका लागि नेकपा एमालेले डा। सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई अघि सारेका छन् । सफाइ अभियानकर्मी राजमान मानवले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *