२८ कार्तिक, काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको छ ।
प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार अधिकांश उद्योगको लाइन गएराति नै जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । उनका अनुसार, बाँकी उद्योगका लाइन आज जोडिने छ । ‘हिजो नै बोर्ड बैठक बसेर निर्णय गरी राति नै अधिकांश उद्योगमा लाइन जोडिसकिएको छ,’ उनले भने, ‘बाँकी उद्योगमा आज नै जोड्ने तयारी छ ।’
मङ्गलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको प्रिमियम शुल्क उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।गत आइतबार मन्त्रिपरिषद्को निर्णयअनुसार, ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको बक्यौता टीओडी (टाइम अफ द डे) मिटरका आधारमा १५ दिनभित्र सबै बक्यौता उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
मन्त्रालयले पनि मन्त्रिपरिषद्को निर्णय र लाल आयोगको प्रतिवेदनअनुसार महशुल उठाउने निर्णय कार्यान्वयन गर्न पत्राचार समेत गरेको थियो ।मन्त्रालयको पत्र पाएपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले महशुल बक्यौता उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।अब प्राधिकरणले टीओडी मिटरका आधारमा उद्योगबाट १५ दिनभित्र महशुल बक्यौता उठाउनुपर्ने छ ।