रवि लामिछानेसँग सुरू भयो दोस्रो दिनको बयान

सेयर गर्नुहोस्

२८ कार्तिक,काठमाडौं– सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिनको बयान सुरू भएको छ।

मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बयानका लागि लामिछानेलाई बिहान सवा १० बजे जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको जानकारी दिइन्।

समय अभावका कारण मंगलबार बयान नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिएको थियो।बिहान जिल्ला प्रहरी कार्यालयमै खाना खाएर लामिछानेलाई बयानका लागि लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई मंगलबार ३० वटा प्रश्न सोधिएको थियो।गोर्खा मिडिया, सहकारीको रकम हिनामिनासँग सम्बन्धित विभिन्न ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरीले जनाएको छ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिइरहेका छन्।बुधबार बयान सकिए लामिछानेलाई साँझ नै पोखरा पठाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *