१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेले हस्ताक्षर गरेको चेक फेला पर्दैमा सहकारी ठगीमा उनको संलग्नता पुष्टी नहुने बताएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा भएको पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सभापति लामिछानेले हस्ताक्षर गरेको चेकले मात्रै उनी सहकारी ठगीमा संलग्न रहेको पुष्टी नहुने बताएका हुन्। आफ्ना सभापति लामिछानेले यसअघि गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे थाहा नभएको बताउँदै आएको कार्यवाहक प्रवक्ताले बताए। प्रहरीको अनुसन्धानको क्रममा भेटिएको हस्ताक्षरसहितको चेकका विषयमा दुई कुरा हुने उनको भनाइ छ। त्यसको सपोर्टिङ डकुमेन्ट के थियो। किस्ता तिरिएको हो कि ब्याज तिरेको भन्ने रिमार्कमा कतै यो कुरा उल्लेख नभएको र ब्याज नै तिरेको अथवा किस्ता तिरेको भन्ने विषयलाई पुष्टी गर्ने कागजात नआएको र त्यसमा लेखिएको विवरणहरू नआएको उनले बताएका छन्।
लाखभन्दा बढीको चेक हस्ताक्षर हुँदा माइन्युट हुने र त्यो माइन्युटमा के थियो भन्नेबारे पनि अहिलेसम्म नआएको यत्तिका दिन भइसक्दा अब ९० दिनको दायरा पूरा हुन २० दिन मात्रै भएकाले न्यायालयलाई विश्वास गरी बाँकी दिन कुर्नुपर्ने रास्वपाको भनाई छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की पुर्याइएको लामिछानेलाई कात्तिक २७ गते सुप्रिम सहकारीको बचत अपचलनक प्रकरणमा बयानका लागि रूपन्देही लगिएको थियो। त्यहाँ बयानका क्रममा प्रहरीले रवि लामिछानेले हस्ताक्षर गरेको चेक देखाएका थिए। यसअघिसम्म गोर्खा मिडिया र विभिन्न सहकारीबीच भएको कारोबार आफूलाई थाहा नभएको दाबी गर्दै आएका लामिछानेलाई प्रहरीले सहकारीमा जम्मा भएको उनको हस्ताक्षरसहितको चेक देखाएका थिए। चेक देखाएर त्यसबारे प्रश्न गरेपछि लामिछानेले जवाफका लागि समय मागेका थिए। त्यसकारण रूपन्देहीमा उनको बयान समेत लम्बिएको थियो। जवाफमा उनले आफू गोर्खा मिडियामा हुँदा चेकहरू आफू बस्ने क्यबिनमा टेबलको ड्रयर मा राख्ने गरेको र त्यसमा कसैले रकम लेखिदिएर लगेको हुनसक्ने बताएका थिए।
उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पाँचौंपटक १५ दिनको म्याद थप गरेको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा पनि बयान लिन उनलाई काठमाडौं ल्याइँदैछ। लगत्तै चितवन लैजाने तयारी छ। चितवनमा सहारा चितवन सहकारीको बचत अपचलन भएको प्रकरणमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।