नेपालमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन अनिश्चित

सेयर गर्नुहोस्

१२ मंसिर, काठमाडौं । विश्वभर चर्चामा रहेको स्टारलिंकको स्याटेलाइट इन्टरनेट नेपालमा सञ्चालन हुने सम्भावना अनिश्चित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि टेस्ला एवं स्पेसएक्सका मालिक समेत रहेका मस्कसँग भर्चुअल कुराकानी गरेको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका थिए । यही मंसिर ७ गते उनले ‘केही समयअघि एलन मस्कसँगको कुराकानीमा उनलाई नेपाल भ्रमणको निम्तो दिएको’ लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

प्रधानमन्त्री ओलीको पोस्टसँगै स्टारलिंकको इन्टरनेट नेपालमा सुरु हुन सक्ने विषयमा चासो बढेको छ । स्टारलिंकले यसअघि नै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष आफ्नो इन्टरनेट सेवा नेपालमा सुरु गर्न चाहेको भनेर प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो । प्राधिकरणले नेपालको कानुनी प्रक्रियाअनुसार सेवा सुरु गर्न सक्ने जानकारी कम्पनीलाई गराएको थियो । विश्वकै धनाढ्य अर्बपति रहेका अमेरिकी उद्यमी एलन मस्कको कम्पनी स्टारलिंकले स्याटेलाइट अथवा भूउपग्रहमा आधारित इन्टरनेट उपलब्ध गराउँछ । अन्तरिक्ष कम्पनी स्पेसएक्सको सहायक कम्पनीका रूपमा रहेको स्टारलिंकले आकाशमा स्याटेलाइट राखेर त्यसमार्फत पृथ्वीको जुनसुकै कुनामा इन्टरनेट सेवा दिने लक्ष्य राखेको छ । कम्पनीले हाल विश्वभर १०० भन्दा बढी देशमा आफ्नो सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ । कम्पनी नेपालमा यसअघि सन् २०२४ मा सेवा सुरु गर्ने जनाएको थियो । कम्पनीले हाल भने सेवा सुरु हुने मिति अनिश्चित रहेको वेबसाइटमा उल्लेख गरेको छ ।

नेपालमा दूरसञ्चार क्षेत्रको विदेशी कम्पनीले ८० प्रतिशत लगानी गर्न पाउने र २० प्रतिशत स्थानीय साझेदारको हुनुपर्ने कानुनी व्यवस्था छ ।दूरसञ्चार नीति, २०६० को ५–६–२ मा उल्लेख छ, “दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिनेछ । यस्तो लगानीमा न्यूनतम २० (बीस) प्रतिशत स्वदेशी सहभागिता हुनुपर्नेछ ।” प्राधिकरणले यही जानकारी स्टारलिंकलाई गराएको थियो । स्टारलिंकले भने शतप्रतिशत आफ्नो लगानीमा सेवा उपलब्ध गराइरहेको छ । सोहीअनुसार नेपाली बजारमा प्रवेश गर्न खोजेको छ । तर, कम्पनीको योजनामा नेपालको कानुनी बाधापछि सेवा सञ्चालन कहिले हुन्छ भन्ने अनिश्चितता देखिएको हो ।

नियामक निकायले कानुनी प्रक्रियाअनुसार आएमा स्टारलिंकले सेवा सञ्चालन गर्न सक्ने जनाउँदै आएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले स्टारलिंकलाई इन्टरनेट सेवाप्रदायकका रूपमा अनुमति दिने प्रक्रिया अघि नबढेको बताए । कानुनानुसार आउने कम्पनीले अनुमति पाउने उनले जानकारी दिए । उनले बाह्रखरीसित भने, “कानुनी प्रक्रिया पूरा गरेर आउने कम्पनीले अनुमति पाउँछन् ।” परम्परागतभन्दा स्टारलिंकको स्याटेलाइट पृथ्वीनजिक रहेका कारण यसको इन्टरनेट स्पीड तीव्र छ । धेरै स्याटेलाइटको सञ्जाल र तिनले पृथ्वीमा ग्राउन्ड स्टेसनसँगको स्थिर कनेक्सनका कारण कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा दिन सक्ने दाबी गर्दै आएको छ ।

भारत र पाकिस्तानमा नियामकीय स्वीकृति कुरिरहेको र बंगलादेश र भुटानमा सन् २०२५ मा सेवा सुरु गर्ने स्टारलिंकले जनाएको छ । मंगोलिया, जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडालगायत देशमा भने यसको सेवा पहिले नै सुरु भइसकेको छ । कम्पनीले आफ्नो इन्टरनेटको अपलोड स्पीड ३८ एमबीपीएस र डाउनलोड स्पिड २५१ एमबीपीएससम्म रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *