२४ मंसिर,काठमाडौं- धरानका उप महानगरपालिकाका मेयर हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले आज धरानमा मौन जुलुस प्रदर्शन गरेका छन् । पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिँदै आएकाले आफूहरू असुरक्षित रहेको भन्दै पत्रकारहरुले मौनजुलुश निकालेका हुन् ।
मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई धम्की दिएका थिए। समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कारवाही नभएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले बताए ।
पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड,छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गेटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति हर्ष सुब्बाले साम्पाङले पत्रकारलाई धम्कीदिएपछि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिँदा र गृहमन्त्रलाई ज्ञापनपत्र बुझाउँदा समेत कारवाही नहुनु दुखद भएको बताए । उनले पत्रकार धम्काउने मेयर साम्पाङलाइ कारवाही गर्न र पत्रकारहरूको सुरक्षा व्यवस्था मिलाइ स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेका छन् ।