जिल्ला अदालत रुपन्देहीमा उपस्थित भए रबि लामिछाने, थुनछेक बहस हुँदै

सेयर गर्नुहोस्

१० माघ,काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । आजदेखि थुनछेक बहस हुने बताइएको छ । यो मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस हुँदैछ । पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ ।

वकालतनामा टिपाउने क्रम अझै जारी रहेकाले कति जनाले बहस गर्ने भन्ने यकिन समेत भइनसकेको स्रेस्तेदार ज्ञवालीले बताए । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ । सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *