११ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । निवेदक दिलबहादुर राईले त्रिपाठीविरुद्ध आज सर्वोच्च अदालतमा अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरेका हुन् ।
गत माघ २ गते सहकारी पीडितको तर्फबाट बहस गर्न जिल्ला अदालत काठमाडौं पुगेका उनी रास्वपाका कार्यकर्ताबाट कुटिएका थिए । उक्त आक्रामणपछि त्रिपाठीले न्यायाधीश र न्यायालयको बारेमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको निवेदकको दाबी छ ।
त्रिपाठीविरुद्धको सो निवेदन आइतबार सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । न्यायाधीश समाज नेपालले पनि आक्रामणपछि त्रिपाठीले न्यायाधीश र न्यायालयको बारेमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति सामूहिक प्रतिवाद गरेको छ ।