‘रास्वपा नेताहरूको विगत खोतल्दै जाँदा कुनै न कुनै काण्डमा मुछिएकै भेटिन्छन्’- ज्वाला संग्रौला

सेयर गर्नुहोस्

१५ माघ,काठमाडौं- पछिल्लो समय एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अर्को आक्रमक भनाइ सार्वजनिक गरेकी छन् ।

केही दिनअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कार मुद्दामा जोगाएको आरोप लगाएकी उनले मंगलबार आफ्नै पार्टीबारे तीखो टिप्पणी गरेकी हुन् ।

उनले रास्वपाका नेता–कार्यकर्ताको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने जिकिर गरेकी हुन् ।

विवादास्पद अभिव्यक्ति दिइरहेकी उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूलाई रास्वपा बताउनेहरूको विगत खोज्दै गए कुनै न कुनै काण्डमा मुछिएका पाइने बताएकी हुन् ।

‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ उनले लेखेकी छन्, ‘मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय ।’

केन्द्रीय सदस्य संग्रौलाले आफूले केही दिनअघि दिएको अभिव्यक्तिको विषयमा पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधे जुनसुकै ठाउँमा उभिएर जवाफ दिन तयार रहेको पनि बताएकी छन् ।

‘मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भए पनि जवाफ दिन तयार छु,’ उनले भनेकी छन् ।

केहीदिन अघि संग्रौलाले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछाने गृहमन्त्री हुँदा बलात्कारको मुद्दामा ‘जीवनदान’ दिएको व्यक्ति अहिले निकै नै उफ्रिरहेको अभिव्यक्ति दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *