१६ माघ,काठमाडौं-नेपाली कांग्रेसबाट ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णमान तामाङ ‘कान्छाराम’विरुद्ध परेको उजुरीको छलफल गर्ने एजेण्डा राखेपछि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक नेपाली कांग्रेसका सांसदहरूले बंक गरेका छन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसका सांसदहरूले बंक गरेपछि बैठक कोरम नपुगेर स्थगित भएको छ ।
२५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।बिहान ११ः३० बजे बोलाइएको बैठकमा कोरम पुग्न १३ सांसद उपस्थित हुनु पर्ने भएपछि १० सदस्य मात्र उपस्थिति रहे ।
संघीय संसद्मा सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समयमै समितिमा उपस्थित थिए।
मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक डाकिएको थियो। यी आयोजनामा मन्त्री खड्काले आर्थिक लेनदेन गरेको आरोप लागेको छ। ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप समितिमा प्राप्त उजुरीहरूमा लगाइएको छ ।
समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए । उनीहरू पनि हाजिर गरेर बैठक कक्षबाट बाहिरिएका थिए । कांग्रेसका अन्य सांसदहरू खम बहादुर गर्बुजा, दिनेश कुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी, सिता गुरुङ बैठकमै पुगेनन् । कांग्रेस सांसद भण्डारीले भने आफू उपत्यका बाहिर हुने जानकारी गराएका थिए । कांग्रेसका अन्य सांसदले उपस्थित नहुनेबारे कुनै जानकारी नगराएका समिति सभापति सिंहले बताए ।
समितिमा कांग्रेसबाट ८, नेकपा एमालेबाट ७, नेकपा माओवादी केन्द्रबाट ३, राप्रपाबाट २, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेकपा एकीकृत समाजवादी पार्टीबाट १, नागरिक उन्मुक्ति पार्टीबाट १ र जनता समाजवादी पार्टीबाट १ जना सांसद सदस्य छन् ।
बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रबाट १, नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट ५, राप्रपाबाट २, जसपाबाट १ जना सांसद सहभागी हुन पुगेका थिए ।
एमालेबाट ठाकुर गैरे, गोकर्ण विष्ट, प्रेमराज महर्जन, दयालबहादुर शाही र निर्मल कोइराला, माओवादी केन्द्रबाट माधव सापकोटा, राप्रपाबाट सभापति सिंह र बिना लामा, रास्वपाबाट जसपाबाट सुशिला श्रेष्ठ बैठकमा सहभागी हुन पुगेका थिए ।
अब अर्को बैठक आगामी २४ गते बिहान ८ बजेका लागि बोलाइएको सभापति सिंहले बताए ।