१८ माघ,काठमाडौं- गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।
पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।’
उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ ।’ एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो ।
विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । एलिना यतिबेलाकी चर्चित गायिका हुन् ।