ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकियो

सेयर गर्नुहोस्

२२ माघ,काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभरको काम ठेकेदार कम्पनीले बीचमै छाडेका कारण माघसुरुदेखि कुनै प्रगति भएको छैन ।

सडक विभागले ठेकेदारसँग सम्पर्क गर्न प्रयास गरिरहेकोले आउँदो चैत महिनाभित्र काम सक्नेगरी योजना बनाइरहेको जनाएको छ । अहिले ग्वार्को फ्लाइओभर बनाउने ठाउँमा कामदार देखिदैनन् । माघ शुरु भएदेखि नै काम हुन नसकेको प्रत्यक्षदर्शी बताउँछन् ।

सडक विभागका अनुसार ग्वार्को फ्लाइओभरको काम करिब ८२ प्रतिशत सकिएको छ । बाँकी काम गरिरहेको आशिष समानान्तर रेलिगेर जेभीले एक्कासी काम छाड्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ ।

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर यो समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपिएको थियो ।

यो समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । सो समयभित्र पनि काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । ठेकेदारले दैनिक रुपमा ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपथ्र्यो ।

सडक विभागका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको ० दशमलब ०५ प्रतिशतका दरले दैनिक ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो ।

तर ८२ प्रतिशत मात्रै काम सम्पन्न गरेर निर्माण कार्य रोकिंदा पनि ठेकेदार कम्पनिले तिर्नुपर्ने हर्जना भने तिर्नैपर्ने हुन्छ । एक्कासी निर्माण कम्पनीले काम छाड्दा सडक विभाग भने के गर्ने भन्ने छलफलमा जुटेको छ ।

सरोकारवालाहरुसँग छलफल गरी छिटै काम शुरु गरेर अबको तीन महिनामा सबै काम सक्ने विभागको दाबी छ । ठेक्का भएको करिब एक वर्षमा डिजाइनमा समस्या देखाएर काम रोकिएको थियो । नयाँ डिजाइन बनाएर काम गरिरहँदा बर्षाको समयमा थप चार महिनासम्म काम अवरुद्ध भएको थियो ।

त्यसपछी निर्माणले गति लिएपनि अहिले ठेकेदार कम्पनीले काम बन्द गरेका हुन् । फ्लाइओभर निर्माण शुरु भएदेखि नै सवारी जामको सास्ती खेप्दै आएका यात्रु र स्थानीय अब झन् बढी चिन्तित बनेका छन् ।

निर्माण सम्पन्न हुँदा ग्वार्को फ्लाइओभरमा ५ सय मिटर एमएसई वाल भएको सडक बन्नेछ । जसमा कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८० मिटर एमएसई सडक निर्माण हुने सडक विभागले जनाएको छ ।

ग्वार्को फ्लाइओभर निर्माणका लागि करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *