२३ माघ,काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका केही मन्त्रीहरू परिवर्तन गर्ने चर्चा चलिरहेको बेलामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने तत्काल पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन नगर्ने बताएको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारमा राम्रो पर्फमेन्स देखाउन नसक्ने एमालेका तीन र कांग्रेसका तीन मन्त्री परिवर्तन गर्ने तयारी गरेका थिए । त्यसका लागि ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल पनि गरेका थिए । गत दसैँ अगाडि नै मन्त्रीहरू परिवर्तन हुने व्यापक हल्ला चलेको थियो ।
तर, कांग्रेसका कुनै पनि नेताहरूले यसबारेमा केही बोलेका थिएनन् । महामन्त्री गगन थापाले मन्त्री परिवर्तनबारे आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दा मुख खोलेका छन् । थापाले तत्काल कुनै मन्त्री परिवर्तन गर्ने योजना पार्टीको नरहेको बताएका हुन् ।
‘नेपाली कांग्रेसमा तत्काल मन्त्री फेर्नेबारे कुनै छलफल भएको छैन,’ महामन्त्री थापाले भने, ‘सरकारमा पार्टीबाट गएका मन्त्रीहरूले अबको छ महिनाभित्र प्रभावकारी काम गरेर देखाउनुपर्ने निर्देशन दिइएको छ । त्यो बेलासम्म मन्त्रीहरूको काम कस्तो हुन्छ, त्यसले मन्त्री फेर्नेबारे पार्टीले निर्णय लिन्छ ।’
वर्तमान सरकार परिवर्तन नहुने थापाले बताए । सरकारले कामको गती बढाउनु पर्ने आवश्यकता रहेको थापाको भनाइ थियो । ‘सरकार बदलिन्न तर जसरी काम भइरहेको छ त्यसरी काम गरेर हुँदैन, गति बढाउनुपर्छ,’ थापाले भने।
ओली नेतृत्वको सरकामा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री छन् । कांग्रेसबाट सरकारको नेतृत्व उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर नेता प्रकाशमान सिंहले गरेका छन् ।
कांग्रेसबाट राम्रो पर्फमेन्स दिन नसकेका भन्दै पर्यटनमन्त्री बद्रि पाण्डे, उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरेका प्रकाशमान सिंहसहितका केहि मन्त्रीहरु फेर्ने चर्चा चलेको थियो ।