रवि लामिछानेविरुद्ध अभियोजनमा त्रुटि गरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु

सेयर गर्नुहोस्

२३ माघ,काठमाडौं-साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ ।जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो ।

सरकारी वकिलको कार्यालयले हिजो सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो । उक्त अभियोजनमा लामिछानेलाई ‘संगठित अपराध’ हटाएर ‘ठगी’ को कसुर मात्रै लगाइएकोप्रति महान्यायाधीवक्ताको कार्यालय सन्तुष्ट छैन । यहि विषयमा जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गरे ।‘अभियोगपत्रको विषयलाई छानबिन सुरु भएको हो  र छानबिनका लागि समिति समेत गठन गरेको  दाहालले  बताए । उनका अनुसार नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।हिजै गठित समितिमा उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् । समितिले हिजोदेखि नै काम थालेको छ । तर, समितिको कार्यकाल भने यकिन नभएको दाहालले बताए ।

छानबिनबाट प्राप्त हुने तथ्यअनुसार थप प्रक्रिया अघि बढ्ने प्रवक्ता दाहालको भनाइ छ । लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानिएसँगै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई ल्याइएको छ ।

लुइँटेल जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा कार्यरत रहेको डेढ वर्ष पुगेको थियो । उनी २०८० कार्तिक २० मा चितवनमा हाजिर भएर काम सुरु गरेका थिए । सामान्यतया जिल्ला न्यायाधिवक्ताको २ वर्षमा सरुवा हुने गर्छ । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उनले गरेको अभियोजनमा केही प्रश्न उठेपछि जिम्मेवारी हेरफेर भएको हो ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ ।

यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *