२४ माघ, चितवन – चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ ।चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस छिट्टै सकिएकाले आजै आदेश गर्ने तयारी गरिएको हो ।
चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले अदालतले आजै आदेश गर्ने तयारी गरेको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाइएको थियो ।कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।
दुई दिन लगाएर सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे ।
जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका हुन् ।
प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरेका छन् ।
अदालतको थुनछेक आदेशसँगै लामिछाने छुट्ने वा थुनामा जाने आजै टुंगो लाग्नेछ ।