मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

सेयर गर्नुहोस्

२८ माघ,काठमाडौं – ‘मिडिया काउन्सिल विधेयक, २०८०’ राष्ट्रियसभाबाट पारित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई राष्ट्रियसभाको सोमबारको बैठकले सर्वसम्मत पारित गरेको हो ।

उक्त विधेयक पारित भएसँगै विधेयकको नाम आमसञ्चार परिषद् ऐन, २०८१ रहेको छ । ‘मिडिया काउन्सिल विधेयक, २०८०’ को नाम ‘आमसञ्चार परिषद् ऐन, २०८१’ बनाउने संसदीय समितिमा सहमति भएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले विधायन व्यवस्थापन समितिमा लामो समय छलफल भई पारित भएर राष्ट्रियसभामा आएको बताएका थिए । उनले मिडिया काउन्सिल विधेयकलाई बढी स्वायत्त बनाउन यस क्षेत्रको नियमन र स्वनियमन गर्ने सम्पूर्ण अधिकार दिएर कसरी मर्यादित, पृथक तथा स्वायत्त निकाय बनाउन सकिन्छ भनेर धेरै विषय उठाइसकेकाले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गर्न अनुरोध गरेका थिए ।

त्यसअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन् ।मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ मा मिडिया काउन्सिल विधेयक दर्ता गराएकी थिइन् । उक्त विधेयक गत जेठ १३ मा राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *