हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने ट्रम्पको चेतावनी

सेयर गर्नुहोस्

२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका हुन् । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट भने प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको छ । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो ।

शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पुर्‍याइरहेको आरोप लगाएको छ । हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *