सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका पालिकाहरुमा सार्वजनिक बिदा

सेयर गर्नुहोस्

१ फागुन, काठमाण्डौ । सर्वोच्च अदालतको आदेशविपरीत माओवादी केन्द्रले जितेका धेरै पालिकाहरुले आज ‘जनयुद्ध दिवस’ का नाममा सार्वजनिक बिदा दिएका छन् । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि पोहोरदेखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो ।

गएको वर्ष पुसमा सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि पोहोर फागुन १ मा सङ्घ सरकारले बिदा कटौती गरेको थियो । तर केही पालिकाले ‘जनयुद्ध दिवस’को बिदा दिएका थिए । यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा बिदा घोषणा दिइएको छ ।

कांग्रेसले जितेका केही पालिकामा पनि माओवादीको बहुमत भएकाले बिदा घोषणा भएको छ । धादिङको गजुरी गाउँपालिकामा भने जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने कि नदिने भन्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद देखिएको छ ।

माओवादीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने सूचना निकालेका छन् भने कांग्रेसबाट उपाध्यक्ष निर्वाचित शर्मिला बिसुरालले सार्वजनिक बिदा नभएको सूचना प्रकाशित गरेका छन्। यसैबीच सर्वोच्चले जनयुद्ध दिवसका नाममा बिदा नदिन अर्को आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *