भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी गएको ६ दिन बितिसक्दा पनि हजारौँ मानिस सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म ४ हजार २४७ जना सम्पर्कविहीन रहेका छन् भने ९०३ जनाको शव फेला परेको छ।
गत बुधबार आएको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा अन्य उद्धार टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेका छन्। प्राधिकरणका अनुसार हालसम्म १० हजार ४५१ जनाको विभिन्न माध्यमबाट उद्धार गरिएको छ।
सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका मानिस सम्पर्कविहीन
बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।
त्यस्तै, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
जिल्लागत विवरणअनुसार रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८ र मकवानपुरका ६५ जना सम्पर्कविहीन छन्। त्यस्तै, जलविद्युत् आयोजनासँग सम्बन्धित ९३३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
विदेशी नागरिक पनि बेपत्ता
बाढीमा ५९२ जना विदेशी नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अझै सम्पर्कमा नआएको जनाइएको छ।
राहत र उद्धारलाई निरन्तरता
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत सामग्री पुर्याउने काम पनि जारी छ। प्राधिकरणका अनुसार हालसम्म ३७ वटा ट्रक र ३५ वटा बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
त्यस्तै, सरकारले ८ वटा हेलिकोप्टर मार्फत उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।
भदौ १४ गते रसुवाका लागि स्थल तथा हवाई मार्गबाट ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य, गैरखाद्य, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको थियो। नुवाकोटमा पनि १६ वटा सवारीसाधन तथा हेलिकोप्टरमार्फत आवश्यक सामग्री परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
बाढी गएको ६ दिन बितिसक्दा पनि ४ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेकाले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।