काठमाडौं । रसुवाको भोटेकोशीमा केही दिनअघि आएको विनाशकारी बाढीपछि अहिले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ। यद्यपि, बाढीको जोखिम कायमै रहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित प्रमुख तथा सहायक नदीको बहाव सतर्कता तहभन्दा तल छ।
तर आगामी तीन दिनमा भने सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी र त्रिशूलीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। यस्तै कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी तथा पश्चिम राप्ती र बबई नदीमा पनि पानीको बहाव बढ्ने देखिएको छ।
यसैबीच, आज विभिन्न पहाडी तथा तराईका जिल्लाबाट बग्ने साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
तर नुवाकोट र रसुवामा जोखिम अझ गम्भीर देखिएको छ। ती जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्ने र अचानक बाढी आउन सक्ने उच्च सम्भावना रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।